रामेश्वर खनाल ले सरकारले अघि सार्ने दीर्घकालीन परियोजनामा लगानी बढाउन आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोष को ३६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने निर्णय भइसकेकाले सो परियोजनामा कोषसहित अन्य संस्थाहरूले पनि लगानी गर्नुपर्ने बताए। साथै, कर प्रणालीमा समानता आवश्यक रहेको उल्लेख गर्दै दोहोरो कर हटाउन पहल गर्नुपर्नेमा उनले जोड दिए।अर्थमन्त्री खनालले १५–२० वर्षे अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने बताए। सार्वजनिक–निजी साझेदारी (PPP) मार्फत नयाँ तथा कृषि परियोजना अघि बढाउन, साथै भूमिको हदबन्दी हटाउनुपर्ने आवश्यकता पनि उनले औंल्याए।कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की ले कोषले हाल सातवटा योजना सञ्चालन गरिरहेको जानकारी दिए। उनले पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न तथा भेन्चर क्यापिटलमार्फत लगानी बढाउने तयारी भइरहेको बताए। साथै, ऐन–नियम संशोधन प्रक्रिया अघि बढाइएको र यान्त्रिकीकरण तथा अटोमेसनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।नेपाल बैंकर्स संघ का अध्यक्ष सन्तोष कोइराला ले कोषले नयाँ लगानी उपकरण र परियोजनामा ध्यान दिनुपर्ने बताए। उनले बैंकहरूले प्रवाह गरेको कर्जा असुलीमा समस्या देखिएको पनि बताए।कार्यक्रममा कोषका पूर्वअध्यक्ष डा. महाश्रम शर्मा, नेपाल वित्तीय संस्था कर्मचारी संघ का अध्यक्ष अच्युतम पौडेल तथा कर्मचारी युनियनका अध्यक्ष नेत्र विक्रम थापा लगायतले कर्मचारी सुविधा, कर सहुलियत र नीतिगत सुधारका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा आन्दोलनका क्रममा योगदान पुर्‍याएका सुरक्षाकर्मीहरूलाई सम्मान समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया