याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा हाल ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका लागि छुट्याएको छ, जसका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । साथै सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ । यस आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ भने आयोजना प्रभावितले अधिकतम ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितका लागि आवेदन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ११ गतेदेखि चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंक का सम्बन्धित शाखाबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामार्फत सी-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Online Arthik









