लिपुलेक भञ्ज्याङ हुँदै भारतचीन बीच सीमा व्यापार पुनः सुरु हुने भएको छ । प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार करिब ६ वर्षपछि उक्त मार्गबाट व्यापार सञ्चालन गर्न तयारी सुरु गरिएको हो । उत्तराखण्डका अधिकारी आशिष भटगाई लाई उद्धृत गर्दै रिपोर्टमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको निर्देशनअनुसार तयारी अघि बढाइएको उल्लेख गरिएको छ ।

स्थानीय रूपमा पुलाङ–गुन्जी मार्ग भनेर चिनिने लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्र अन्तर्गत पर्ने संवेदनशील भूभाग हो, जुन हाल भारत को नियन्त्रणमा रहेको छ तर नेपाल ले यसमाथि निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यसअघि सन् २०१५ र २०२० मा नेपाल ले भारतचीन बीच भएका द्विपक्षीय सहमतिहरूको विरोध पनि जनाएको थियो ।

यसपटक भारतको विदेश मन्त्रालय ले ‘नो अब्जेक्सन सर्टिफिकेट’  जारी गरेपछि व्यापार पुनः सञ्चालनको प्रक्रिया अघि बढेको हो । साथै भारतीय विदेश सचिव विक्रम मिस्री ले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धन लाई पत्र लेख्दै हिमालय क्षेत्रको उक्त नाकाबाट व्यापार पुनः सुरु गर्न अनुरोध गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया