गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्षतिबारे अध्ययन गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि नेपाल बार एशोसिएसन ले प्रारम्भिक प्रतिक्रिया जनाएको छ। बारका अनुसार प्रतिवेदनले आफ्नो कार्यक्षेत्र नाघ्दै न्यायपालिकामाथि अनावश्यक टिप्पणी गरेको देखिएको छ। यस विषयमा संस्थागत धारणा बनाउन बारले आज दुई चरणमा महत्त्वपूर्ण बैठक बोलाएको छ। पहिलो चरणमा दिउँसो साढे १ बजे सल्लाहकारसहित कार्यसमितिको आकस्मिक बैठक बस्ने जानकारी बार अध्यक्ष विजय मिश्र ले दिएका छन्। उक्त बैठकमा प्रतिवेदनका संवेदनशील बुँदाहरूको विश्लेषण गरी साझा धारणा तय गरिने जनाइएको छ। मिश्रका अनुसार प्रतिवेदनले न्यायपालिकाप्रति अविश्वास सिर्जना गर्ने तथा संस्थागत मर्यादामा आँच पुर्‍याउने संकेत देखिएकाले यसलाई गम्भीर रूपमा लिइएको हो, र त्यसैले कानुनी तथा संवैधानिक आधारमा एकीकृत प्रतिक्रिया तयार पारिनेछ। साथै, आजै बारको संवैधानिक समितिको बैठक पनि बस्नेछ, जसलाई संयोजक टीकाराम भट्टराई ले बोलाएका हुन्, जहाँ प्रतिवेदनमा उल्लेख गरिएका न्यायपालिकासम्बन्धी विषयहरूमा विस्तृत छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया