कृषि विकास बैंक लिमिटेड ले ‘ग्लोबल मनी विक अभियान २०२६’ अन्तर्गत देशभर १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको जनाएको छ। मार्च १६ देखि २२ सम्म सञ्चालन गरिएको उक्त अभियानमार्फत सातै प्रदेशका सहभागीहरूलाई वित्तीय ज्ञान तथा व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। विश्वभर मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित सञ्चालन गरिएको थियो। अभियानअन्तर्गत बचत गर्ने बानीको विकास, कर्जा लगानी र त्यसको प्रभावकारी उपयोग, डिजिटल बैंकिङ सेवा तथा वित्तीय ठगीबाट बच्ने उपायबारे विद्यार्थी र युवाहरूलाई सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ। विभिन्न शाखा कार्यालयमार्फत कार्यक्रम सञ्चालन गर्दै बैंकले वित्तीय साक्षरतासम्बन्धी सामग्री उत्पादन तथा प्रकाशन–प्रसारणलाई पनि निरन्तरता दिएको उल्लेख गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित बैंकले सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना र दिगो विकासमा योगदान पुर्‍याउने कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया