अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढेपछि नेपाल आयल निगम ले आन्तरिक बजारमा पुनः मूल्यवृद्धि गरेको छ। पछिल्लो एक महिनामा पेट्रोलमा प्रतिलिटर करिब ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँसम्म मूल्य बढ्दा निगम गम्भीर घाटामा पुगेको भन्दै मूल्य समायोजन गरिएको हो। निगमले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, डिजेल तथा मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ निर्धारण गरिएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन बाट उच्च मूल्यमा खरिद गर्नुपरेकाले लागत बढ्दै गएको हो, जसका कारण आपूर्ति व्यवस्थापनमै समस्या आउने जोखिम देखिएको छ। यद्यपि उपभोक्तामाथि पर्ने असर कम गर्न मूल्य स्थिरीकरण कोषको आंशिक प्रयोग गरिएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा तत्कालै समायोजन गरिने प्रतिबद्धता पनि निगमले जनाएको छ। साथै, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई समावेश गरिएको छ।

Online Arthik










