कालिन्चोक हाइड्रोपावर लिमिटेड ले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरिसकेको छ भने अब दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीयका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइसकेको छ। अब बाँकीमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरिनेछ। लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्, जसको अन्तिम मिति चैत २५ गते तोकिएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आवेदन सि-आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका शाखाबाट वा मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी दिन सकिनेछ।

Online Arthik










