नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल क्षेत्रलाई विलासिताको साटो आवश्यकताको क्षेत्रका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ। अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै भेट गर्दै यस्तो सुझाव दिएको हो।
अर्थमन्त्रीसँगको भेटमा नाइमाले अटोमोबाइल क्षेत्रका लागि स्थिर र पूर्वानुमानयोग्य नीतिगत वातावरण बनाउन आग्रह गरेको छ। साथै ८०/२० को कर्जा–मूल्य अनुपात कायम गरी वित्तीय पहुँच सहज बनाउन, भन्सार जाँचपासपछि पनि अडिट तहमा फरक व्याख्याबाट देखिने बेरुजुको समस्या समाधान गर्न र विद्युतीय (ईभी) तथा हाइब्रिड सवारीको स्पष्ट वर्गीकरणसहित समान कर व्यवहार लागू गर्न माग गरेको छ। ‘मेक इन नेपाल’ अभियान अन्तर्गत एसेम्बलिङ उद्योग प्रवद्र्धनका लागि दीर्घकालीन नीतिको आवश्यकता पनि औंल्याइएको छ।
नाइमाका सुझावहरू सान्दर्भिक रहेको बताउँदै अर्थमन्त्री वाग्लेले आगामी नीति, कार्यक्रम तथा बजेटमा यी विषयहरूलाई यथासम्भव समेट्ने आश्वासन दिएका छन्।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री लम्सालसँगको भेटमा उनले अटोमोबाइल क्षेत्रले अर्थतन्त्र, रोजगारी र गतिशीलतामा पुर्याएको योगदानको प्रशंसा गरे। उनले यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने नीति बनाउन सरकार सकारात्मक रहेको बताएका छन्। साथै समस्या समाधानका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न नाइमालाई आग्रह गरिएको छ।
भेटका क्रममा नाइमाले भन्सार प्रक्रियाको सरलीकरण, सवारी परीक्षण सुविधा विस्तार, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणलगायत विषयमा पनि आफ्ना धारणा प्रस्तुत गरेको छ।

Online Arthik










