नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयमा आवद्ध अभिकर्ता समूहलाई १ दिने विशेष तालिम प्रदान गरेको छ।

प्रेरणा, प्रगति र पेशागत उत्कृष्टतामा केन्द्रित मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै तथा लुम्बिनी प्रदेशका केही शाखाका गरी कुल १६० जना अभिकर्तालाई तालिम दिइएको हो। महेन्द्रनगर, शुक्लाफाँटास्थित होटल ओपेरामा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्रमा चर्चित उपाधि ‘एमडिआरटी’ लक्ष्य हासिल गर्ने उपायहरूबारे विभिन्न उदाहरणसहित प्रशिक्षण दिएका थिए।कार्यक्रमको उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। सुदूरपश्चिम प्रदेश प्रमुख नवीन किशोर भट्टले सहभागीलाई स्वागत गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले अभिकर्ताको पेशागत क्षमता अभिवृद्धिका लागि विभिन्न योजनामार्फत तालिम सञ्चालन गर्दै आएको जानकारी दिए।

कार्यक्रममा विभिन्न शाखाबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय अभिकर्तालाई सम्मानसमेत गरिएको थियो। सहभागीहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिन पाएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए भने सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको बताएका थिए।

तपाईको प्रतिक्रिया