अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः पूर्णरूपमा अवरुद्ध भएको छ। सोमबार निर्माण गरिएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि राजमार्ग फेरि बन्द भएको हो। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्ती क्षेत्रमा बनाइएका डाइभर्सन बगाएको छ। सडक अवरुद्ध भएपछि काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ, धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारी साधन होल्डमा राखिएको छ। धुलिखेलमा रोकिएका गाडीलाई चरिकोट हुँदै गन्तव्यतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ। मङ्गलटारमा रोकिएका चार वटा ईभी गाडीका १६ जना यात्रुलाई तेमाल सडक हुँदै धुलिखेलतर्फ पठाउने तयारी भइरहेको छ। बीपी राजमार्ग प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक जानकारीका लागि नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया