इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ। विभागका अनुसार आज बुधबारदेखि लागू हुने गरी यात्रुबहाक सवारीसाधन, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान ५–५ प्रतिशतले भाडा बढाइएको हो। यसअघि चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ वैशाखको सहमतिअनुसार यो निर्णय कार्यान्वयनमा आएको विभागले जनाएको छ। हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ, जसका कारण सञ्चालन लागत बढेकाले भाडा समायोजन गरिएको हो। यद्यपि विद्युतीय सवारीसाधनमा भने भाडा वृद्धि लागू नहुने र बढाएको पाइएमा कारबाही गरिने चेतावनी विभागले दिएको छ।

Online Arthik










