आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा उच्च गिरावट आएको छ। कम्पनीले समीक्षा अवधिमा केवल ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.८३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफामा गिरावट आए पनि कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ। अघिल्लो आवमा ९२ करोड ९१ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क चालु आवमा बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। तर, कम्पनीको कुल खर्च तथा दाबी भुक्तानीमा उल्लेखनीय वृद्धि भएकाले नाफामा दबाब परेको देखिन्छ। कुल खर्च अघिल्लो आवको १ अर्ब १४ करोड रुपैयाँबाट बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने दाबी भुक्तानी ६१ करोड ३० लाख रुपैयाँबाट बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

यस अवधिसम्म कम्पनीको महाविपत्ती कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ ५९ लाख ८४ हजार रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म ११.६७ रुपैयाँ रहेको ईपीएस घटेर ०.०२ रुपैयाँमा सीमित भएको छ। साथै, कम्पनीको प्रतिसेयर नेटवर्थ १८२.७२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८३.२३ रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया