निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.७५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ४८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो।

संस्थाको खराब कर्जा अनुपात उल्लेखनीय रूपमा बढ्दै गएपछि प्रोभिजन खर्चमा वृद्धि भएको र त्यसकै प्रभावले नाफा घटेको देखिएको छ। समीक्षा अवधिसम्म खराब कर्जा अनुपात ८.०९ प्रतिशतबाट बढेर १३.९९ प्रतिशत पुगेको छ। यसैकारण संस्थाले ५३ करोड ८० लाख रुपैयाँ प्रोभिजनका लागि छुट्याउनु परेको छ, जबकि गत वर्ष सोही अवधिमा ४१ करोड ७९ लाख रुपैयाँ मात्रै प्रोभिजन गरिएको थियो।

यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २४.५३ रुपैयाँबाट घटेर ७.५४ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २१४.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९२.१९ गुणा तथा तरलता अनुपात ७.८१ प्रतिशत रहेको छ। साथै, संस्थाले तेस्रो त्रैमाससम्म वितरणयोग्य मुनाफातर्फ १६ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ, जसअनुसार लाभांश क्षमता ८.०५ प्रतिशत रहेको देखिन्छ।

तपाईको प्रतिक्रिया