हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। यससँगै कम्पनीको नाफा वार्षिक आधारमा ४४.६६ प्रतिशतले घटेको देखिएको छ।
यद्यपि, कम्पनीको बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ। समीक्षा अवधिसम्म कम्पनीले १३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँको तुलनामा ६.१८ प्रतिशत बढी हो। यसैगरी, खुद बीमाशुल्क आर्जन पनि १२ अर्ब १८ करोड ३० लाख रुपैयाँबाट बढेर १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ।
चैत्र मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ। यद्यपि, अन्य इक्विटी १ अर्ब ४२ करोड १८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा अझ बढेको हो।
९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.८९ रुपैयाँबाट घटेर ३.८१ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने १००.४५ रुपैयाँ कायम भएको छ।

Online Arthik










