नेपालको निजी हवाई सेवा क्षेत्रमा लामो समयदेखि सक्रिय यति एयरलाइन्सले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । यससँगै नेपालकै चर्चित निजी एयरलाइन्समध्ये एक मानिएको यती एअरलाईन्स पूँजीबजारमा प्रवेश गर्ने तयारीमा पुगेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर र बीमा कम्पनीहरूको वर्चस्व रहेको प्राथमिक शेयर बजारमा अब हवाई सेवा क्षेत्रको ठूलो कम्पनी प्रवेश गर्न लागेको संकेत देखिएको छ ।कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार आईपीओसम्बन्धी सम्झौतापत्रमा अनुप आचार्य तथा सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

यती एअरलाईन्स ले देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ । कम्पनीले उच्च सुरक्षा मापदण्ड, सञ्चालन विश्वसनीयता तथा सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै व्यवसाय विस्तार गरिरहेको जनाएको छ ।कम्पनीका अनुसार नेपालमा हवाई पहुँच विस्तार, पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ बनाउन यती एअरलाईन्सले महत्वपूर्ण योगदान दिँदै आएको छ ।पूँजीबजारका जानकारहरूले यती एअरलाईन्सको आईपीओ तयारीलाई “नयाँ सेक्टर इन्ट्री” का रूपमा हेरेका छन् ।नेपाल स्टक एक्सचेन्जमा हालसम्म हवाई सेवा क्षेत्रको प्रभावकारी उपस्थिति नरहेको अवस्थामा यतीको प्रवेशले लगानीकर्तालाई फरक क्षेत्रको लगानी विकल्प दिने अपेक्षा गरिएको छ ।यद्यपि कम्पनीले हालसम्म आईपीओको आकार, निष्कासन समय, मूल्य संरचना वा सर्वसाधारणलाई कति प्रतिशत शेयर जारी गरिने भन्ने विवरण सार्वजनिक गरेको छैन । बजारमा कम्पनीको वित्तीय अवस्था, नाफाक्षमता, ऋण व्यवस्थापन तथा एयरलाइन्स क्षेत्रको जोखिम मूल्यांकनबारे चासो बढ्न थालेको छ ।

नेपालमा हवाई क्षेत्र उच्च सञ्चालन लागत, मौसमीय जोखिम तथा नियामकीय चुनौतीबीच सञ्चालन हुँदै आएको अवस्थामा यती एअरलाईन्सको आईपीओले लगानीकर्ताबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया