एभरेष्ट कलर लिमिटेड ले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आगामी जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो। यसअघि पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता आईपीओ जारी गरी बाँडफाँड गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुलाउन लागेको जनाएको छ।

कुल निष्कासनमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्स्यूअर’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्कासन छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गते बन्द हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि गर्न सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड  रहेको छ।

तपाईको प्रतिक्रिया