काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र ट्राफिक अनुशासन कडाइ गर्न सघन निगरानी अभियान सञ्चालन गरेको छ। पछिल्लो २४ घण्टामा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्ने २,४५३ जना चालक कारबाहीमा परेका छन् भने जरिवानामार्फत ११ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

उपत्यकाका मुख्य सडक, चोक र व्यस्त मार्गहरूमा गरिएको विशेष चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे), तीव्र गति, रातोबत्ती उल्लङ्घन, एकतर्फी सडक प्रयोग तथा अव्यवस्थित राइड सेयरिङजस्ता गतिविधिमाथि विशेष निगरानी गरिएको थियो। प्रहरीका अनुसार मापसे गरी सवारी चलाउने १०५ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २३८ जना, रातोबत्ती उल्लङ्घन गर्ने १८४ जना, तीव्र गतिमा सवारी चलाउने १८६ जना तथा एकतर्फी सडकमा प्रवेश गर्ने १३९ जना चालकलाई जरिवाना गरिएको छ।यसैगरी, हर्न निषेधित क्षेत्रमा अनावश्यक हर्न बजाउने ११९ जना, फुटपाथ अतिक्रमण गर्ने १०० जना तथा लेन अनुशासन तोड्ने १४ जना चालक पनि कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनमा १,३६८ जना चालक समातिएको प्रहरीले जनाएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का प्रवक्ता नरेशराज सुवेदीका अनुसार पछिल्लो समय ट्राफिक उल्लङ्घनका घटना बढ्न थालेपछि निगरानी र चेकिङलाई अझ प्रभावकारी बनाइएको हो। उनले दैनिक रूपमा मोबाइल टोली परिचालन भइरहेको पनि जानकारी दिए।

ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण भएकाले यसबाट सचेत रहन आग्रह गरेको छ। कुनै चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको आशंका भएमा ट्राफिक कन्ट्रोल रुमको हटलाइन १०३ वा प्रहरीको १०० मा जानकारी दिन पनि अनुरोध गरिएको छ।

सवारी चाप, अव्यवस्थित पार्किङ र नियम उल्लङ्घन बढ्दै जाँदा उपत्यकाको सडक व्यवस्थापन चुनौतीपूर्ण बनेको भन्दै आगामी दिनमा अझ कडा निगरानी तथा कारबाही अभियान सञ्चालन गरिने संकेत प्रहरीले दिएको छ।

तपाईको प्रतिक्रिया