बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म कृषि क्षेत्रमा कुल ३ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.३४ प्रतिशतले वृद्धि भएको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार कृषि कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा पशुपालन क्षेत्रमा रहेको छ, जहाँ ६६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। त्यसपछि अन्य कृषि तथा कृषिजन्य सेवामा ४८ अर्ब ५८ करोड रुपैयाँ, अन्न बालीमा ४२ अर्ब ९० करोड रुपैयाँ तथा माहुरीपालन क्षेत्रमा ३९ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी भएको छ। विपरीत रूपमा, सबैभन्दा कम कर्जा सुर्ती खेतीमा १६ करोड ८९ लाख रुपैयाँ मात्रै प्रवाह भएको छ।

यस अवधिमा तरकारी बालीमा १९ अर्ब ५६ करोड रुपैयाँ, पंक्षीपालनमा १६ अर्ब ५८ करोड रुपैयाँ, माछापालनमा १६ अर्ब ९ करोड रुपैयाँ, कृषि सामग्री भण्डारणमा १५ अर्ब ६८ करोड रुपैयाँ, मलखाद तथा किटनासक क्षेत्रमा ३१ अर्ब ३४ करोड रुपैयाँ, फलफूल तथा पुष्पखेतीमा ५ अर्ब ५७ करोड रुपैयाँ, शीत भण्डारणमा ६ अर्ब ५९ करोड रुपैयाँ, चिया तथा कफी खेतीमा ३ अर्ब ४६ करोड रुपैयाँ, बीउ उत्पादनमा ३ अर्ब ३ करोड रुपैयाँ, सनपाटमा २ अर्ब २४ करोड रुपैयाँ, सिँचाइमा १ अर्ब ६५ करोड रुपैयाँ तथा वन क्षेत्रमा ४ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी भएको छ।

प्रदेशगत रूपमा हेर्दा कृषि कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.८८ प्रतिशत रहेको छ। त्यसपछि मधेश प्रदेशको १८.३० प्रतिशत, कोशी प्रदेशको १६.५६ प्रतिशत, लुम्बिनी प्रदेशको १५.१४ प्रतिशत, गण्डकी प्रदेशको ६.९५ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ४.७० प्रतिशत तथा कर्णाली प्रदेशको १.४७ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया