त्रिभुवन विश्वविद्यालय ले अध्ययन बिदा लिएर उच्च शिक्षा पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका वा तोकिएको सेवा अवधि पूरा नगरी जागिर छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो। विश्वविद्यालयले तोकिएको समयभित्र सम्पर्कमा नआए कबुलियतनामा र प्रचलित नियमअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा विश्वविद्यालयको सक्रियतामा यो प्रक्रिया अगाडि बढाइएको हो। विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गर्दै केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गरी अध्ययन पूरा गरेपछि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको जनाएको छ। साथै, अध्ययन बिदा सुविधा उपयोग गर्ने शिक्षक तथा कर्मचारीले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने विश्वविद्यालयले जनाएको छ।

Online Arthik










