कामना सेवा विकास बैंक लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बुटवलमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। बैंकको बुटवल शाखामार्फत बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको हो।

कार्यक्रममा बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बालबालिकाको प्रारम्भिक शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै सहयोग गरिएको बताए। उनले स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध बढाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझीले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह बढाउनुका साथै अभिभावकहरूलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बैंकका कर्मचारी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया