औद्योगिक जिल्ला व्यवस्थापन लिमिटेड ले बक्यौता भाडा तथा महसुल नतिर्ने उद्योगहरूविरुद्ध कडा कारबाही अघि बढाउँदै एकैदिन ६३ वटा उद्योगको पानी तथा विद्युत् सेवा बन्द गरेको छ।
लामो समयदेखि सरकारी जग्गा, भवन तथा पूर्वाधार प्रयोग गरे पनि भाडा र महसुल नतिरेपछि देशभरका विभिन्न औद्योगिक क्षेत्रका उद्योगहरूलाई लक्षित गर्दै सेवा काटिएको हो।लिमिटेडका अनुसार देशका १० वटा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूले बारम्बार अनुरोध र ताकेता गर्दा पनि बक्यौता भुक्तानी नगरेपछि बुधबारदेखि कडाइ गरिएको हो। कारबाही सुरु भएकै दिन करिब १० करोड रुपैयाँ बक्यौता असुल भएको जनाइएको छ। सबैभन्दा धेरै कारबाही बालाजु औद्योगिक जिल्लामा भएको छ, जहाँ २४ उद्योगको सेवा काटिएको छ। त्यसपछि हेटौंडा औद्योगिक जिल्लामा १३ उद्योग, पाटन औद्योगिक जिल्लामा ७ उद्योग तथा पोखरा औद्योगिक जिल्ला मा ५ उद्योग प्रभावित भएका छन्।त्यस्तै बुटवल औद्योगिक जिल्ला र भक्तपुर औद्योगिक जिल्ला मा ४–४ उद्योगको सेवा बन्द गरिएको छ। नेपालगन्ज औद्योगिक जिल्ला, धरान औद्योगिक जिल्ला तथागजेन्द्रनारायण सिंह औद्योगिक जिल्ला अन्तर्गतका केही उद्योगहरू पनि कारबाहीमा परेका छन्। सेवा काटिएपछि केही उद्योगहरूले तत्काल बक्यौता तिरेर पुनः सेवा सञ्चालन गराएका छन्। हालसम्म ८ उद्योगले रकम भुक्तानी गरेपछि पानी तथा बिजुली पुनः जडान गरिएको छ भने बाँकी ५५ उद्योग अझै सेवा अवरुद्ध अवस्थामा छन्।
लिमिटेडले बक्यौता असुलीलाई अझ तीव्र बनाउने र बाँकी उद्योगमाथि पनि क्रमशः कारबाही अघि बढाइने जनाएको छ।

Online Arthik









