आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने उद्देश्यले फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीका अनुसार उक्त रकमबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्क्रिन रिडर सफ्टवेयरजस्ता आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइनेछ। आईएमई लाइफको सहयोगबाट काठमाडौंको लोलाङ, दाङ र सुर्खेतस्थित तीन विद्यालयका विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। कम्पनीले समावेशी शिक्षा र समान अवसरलाई समाज विकासको महत्वपूर्ण आधार मान्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ। आवश्यक शैक्षिक सामग्रीको उपलब्धताले दृष्टिविहीन विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज बन्नुका साथै उनीहरूको आत्मविश्वास र शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सन् २००० देखि दृष्टिविहीन बालबालिकाको शिक्षा तथा अधिकारका क्षेत्रमा क्रियाशील फेलोसिप सोसाइटी नेपालको अनुभव र आईएमई लाइफको सहयोगले समावेशी समाज निर्माणमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Online Arthik










