चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य तथा पदाधिकारी चयनका लागि इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गरिने भएको छ। मतदान प्रक्रियालाई छिटो, व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन आयोगले ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरेको जनाएको छ।
यी मेसिन नुवाकोटका इन्जिनियर राम रीमाल र लक्ष्मण रीमालले विकास गरेका हुन्। यसअघि पनि यही प्रणाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनमा प्रयोग गरिएको थियो।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार एक प्रतिनिधिले मतदान गर्न करिब १५ देखि २० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिको सहभागिता रहेकाले मतदान व्यवस्थापन सहज बनाउन ठूलो संख्यामा भोटिङ मेसिन प्रयोगमा ल्याइएको हो।
निर्वाचन आयोगले मतदान सम्पन्न भएको करिब एक घण्टाभित्र नतिजा सार्वजनिक गर्न सकिने दाबी गरेको छ। यद्यपि मतदान प्रक्रिया नै लामो हुने देखिएको छ। औसत २० मिनेटका दरले करिब ४ हजार २ सय प्रतिनिधिले मतदान गर्दा कुल समय धेरै लाग्ने भए पनि ८० वटा मेसिन एकसाथ सञ्चालन हुँदा प्रक्रिया तुलनात्मक रूपमा छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ। इलेक्ट्रोनिक प्रणालीका कारण मतगणनामा लाग्ने समय भने उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ।
रास्वपाले आजै केन्द्रीय सदस्य र पदाधिकारीको निर्वाचन सम्पन्न गरी अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि मात्र पदाधिकारी चयनको प्रक्रिया अघि बढ्नेछ।
पार्टी विधानअनुसार सभापति र केन्द्रीय सदस्यहरूको टुंगो लागेपछि महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने व्यवस्था छ। रास्वपाको केन्द्रीय समितिमा १९ पदाधिकारीसहित १५१ सदस्य रहनेछन्। तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जना सदस्यलाई सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।
असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशन मूल कार्यतालिकाअनुसार असार ९ गते सम्पन्न हुनुपर्ने थियो। तर प्रतिनिधि छनोट तथा प्राविधिक व्यवस्थापनमा देखिएका चुनौतीका कारण कार्यक्रम केही दिन लम्बिएको छ। देशभरबाट करिब ४ हजार प्रतिनिधि सहभागी रहेको यो महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुँदैछ।

Online Arthik










