बाँकेको नेपालगन्ज स्थित नेपालगन्ज उपमहानगरपालिका ले अत्यधिक गर्मीका कारण नगरभित्रका सबै विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाका अनुसार असार १० गते बुधबारदेखि असार १२ गते शुक्रबारसम्म सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको छ। लगातार बढ्दो गर्मी र पर्याप्त वर्षा नहुँदा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले यस्तो निर्णय गरिएको जनाइएको छ।यसअघि पनि अत्यधिक तापक्रमका कारण जेठ २६ देखि २९ गतेसम्म विद्यालयहरू बन्द गरिएको थियो। तर अपेक्षित वर्षा नहुँदा तापक्रममा उल्लेख्य कमी आउन नसकेपछि पुनः बिदा दिनुपर्ने अवस्था सिर्जना भएको शिक्षा महाशाखाले जनाएको छ। उपमहानगरपालिकाले जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवाला निकायहरूको सुझाव तथा अभिभावकहरूको आग्रहलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।
हाल तराईका विभिन्न जिल्लामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भइरहेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।

Online Arthik










