एनआईसी एशिया बैंक लिमिटेड ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। यसका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

बैंकले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ। नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको आधारमा साविकका सेयरधनीलाई प्रत्येक दुई कित्ता सेयर बराबर एक कित्ता नयाँ सेयर खरिद गर्ने अवसर प्रदान गरिनेछ। यसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्ने जनाएको छ। हरेक सेयरको अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ। बैंकले आवश्यक सबै नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरेपछि हकप्रद सेयर निष्काशनको औपचारिक प्रक्रिया अघि बढाइने जनाएको छ। हकप्रद सेयरमार्फत संकलित रकम बैंकको पूँजी संरचना थप सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत बनाउन तथा दीर्घकालीन व्यवसाय विस्तार र रणनीतिक योजनाहरू कार्यान्वयन गर्न उपयोग गरिने बैंकले जनाएको छ। हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गाना ले हस्ताक्षर गरेका छन्।

यो हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पूँजीमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ, जसले भविष्यमा बैंकको वित्तीय क्षमता र व्यवसाय विस्तारलाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया