भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा देशका विभिन्न भागमा व्यापक क्षति पुगेको छ। राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ नागरिक घरबाट बाहिर निस्कन बाध्य भएका छन्। सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ।

भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपतकाल घोषणा गरेकी छन्। उनले क्षतिको गम्भीरताका कारण देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल ‘सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल’ बन्द गरिएको जानकारी दिएकी छन्। विमानस्थल क्षेत्रमा धुलो उडेको र मानिसहरू भाग्दै गरेका दृश्यहरू सार्वजनिक भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा रहेको मोरोन क्षेत्र नजिक थियो। पहिलो भूकम्प २२ किलोमिटर गहिराइमा गएको थियो भने त्यसको एक मिनेटपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प आएको थियो। दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा र १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।भूकम्पका कारण धेरै राज्य प्रभावित भएका छन्। सरकारका अनुसार घर, भवन तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको छ। तटीय फाल्कन राज्यका गभर्नर भिक्टर क्लार्कका अनुसार कम्तीमा ३२ जना अस्पतालमा उपचाररत छन् भने भूकम्प गएको चार घण्टापछि पनि १५ जना भग्नावशेषमा फसेका थिए।काराकासका विभिन्न क्षेत्रमा विद्युत् सेवा, मोबाइल सञ्जाल, मेट्रो सेवा तथा प्राकृतिक ग्यास आपूर्ति अवरुद्ध भएको छ। सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राख्दै नागरिकहरूलाई खुला स्थानमा बस्न र क्षतिग्रस्त भवनमा प्रवेश नगर्न आग्रह गरिएको छ।विद्यालयहरू केही दिनका लागि बन्द गरिएका छन् भने केही विद्यालयलाई अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिने भएको छ। स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा उपस्थित भई घाइतेहरूको उपचारमा सहयोग गर्न सरकारको आह्वान छ। भूकम्पको प्रभाव छिमेकी देशहरूमा समेत महसुस गरिएको छ। ब्राजिल र कोलम्बियाका केही क्षेत्रमा कम्पन अनुभव गरिएको भए पनि त्यहाँ ठूलो क्षति भएको विवरण प्राप्त भएको छैन। प्रारम्भिक रूपमा सुनामीसम्बन्धी चेतावनी जारी गरिए पनि पछि उक्त चेतावनी फिर्ता लिइएको छ।

भूकम्पपछि संयुक्त राज्य अमेरिका, चिली, एल साल्भाडोर तथा इक्वेडरलगायत देशहरूले भेनेजुएलालाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन तयार रहेको जनाएका छन्। अधिकारीहरूले उद्धार तथा राहत कार्य जारी रहेको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया