सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेड को प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ शुक्रबार बिहान बिक्री प्रबन्धकको कार्यालयमा गोलाप्रथा विधिबाट बाँडफाँड गरेको हो।
आईपीओ बाँडफाँड ग्लोबल आ.इ.एम.इ क्यापिटल लिमिटेड को नक्सालस्थित कार्यालयमा सम्पन्न भएको हो। कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो। बिक्री प्रबन्धकका अनुसार आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा विधिबाट सेयर बाँडफाँड गरिएको हो। यस आईपीओमा कुल २८ लाख ९४ हजार २३२ आवेदन प्राप्त भएका थिए। तीमध्ये २८ लाख ५० हजार २५ आवेदन सदर भएका छन् भने ४४ हजार २०७ आवेदन विभिन्न कारणले बदर भएका छन्।सदर आवेदनमध्ये ७० हजार ५५० जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन्। बाँकी अधिकांश आवेदक भने सेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्।
आईपीओको नतिजामेरो सेयर तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ।

Online Arthik










