कैलालीको चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म निर्माणाधीन जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमको पर्यटन तथा आर्थिक विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। आइएमई समूहको मुख्य लगानीमा करिब ६ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस परियोजनाअन्तर्गत ३.१ किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्गलगायतका पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्।
परियोजनाको निर्माण तीव्र गतिमा अघि बढिरहेको र आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको आयोजनाका इन्जिनियर विजय पौडेलले जानकारी दिएका छन्। हाल पोल निर्माण, बटम तथा टप स्टेशनको काम अन्तिम चरणमा पुगेको छ भने त्यसपछि तार तान्ने र गोण्डोला जडानको काम सुरु हुनेछ।व्यवसायीहरूका अनुसार परियोजना सञ्चालनमा आएपछि चिसापानी र राजकाँडा क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने, होटल, यातायात, कृषि, व्यापार तथा सेवा क्षेत्रमा उल्लेखनीय आर्थिक गतिविधि बढ्ने र हजारौँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। स्थानीय उत्पादन, होमस्टे, हस्तकला तथा कृषि उपजले समेत नयाँ बजार पाउने विश्वास गरिएको छ।पर्यटन व्यवसायीहरूले कर्णाली नदी, चिसापानी पुल, जालपादेवी मन्दिर, जलपर्यटन, जंगल सफारी र आसपासका पर्यटकीय क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गर्न सके सुदूरपश्चिममा पर्यटनमार्फत आर्थिक रूपान्तरण सम्भव हुने बताएका छन्।भारतसँगको खुला सीमा, सहज सडक सञ्जाल र उत्तराखण्ड तथा उत्तरप्रदेशजस्ता घना जनसंख्या भएका राज्यसँगको निकटताले भारतीय पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना रहेको उनीहरूको भनाइ छ।
आइएमई समूह तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस परियोजना केवल पर्यटन पूर्वाधार नभई सुदूरपश्चिमको आर्थिक रूपान्तरणको आधार बन्ने विश्वास व्यक्त गर्दै देशभर यस्तै पर्यटन पूर्वाधार विस्तार गर्ने दीर्घकालीन योजना रहेको बताएका छन्।

Online Arthik









