कालीकोटको महावै गाउँपालिकाले आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। शनिबार महावै–७ कोटखौलमा आयोजित कार्यक्रममा गाउँपालिकाको नयाँ प्रशासकीय भवनको शिलान्यास गरिएको हो।

लामो समयदेखि भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको गाउँपालिकाले अब स्थायी प्रशासनिक संरचना निर्माण गर्न लागेको हो। निर्माणाधीन भवन साढे दुई तलाको हुनेछ भने यसमा ३२ वटा कोठा रहनेछन्। गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीका अनुसार भवन निर्माणका लागि ५ करोड ५१ लाख ८४ हजार रुपैयाँ लागतमा गत वैशाख १५ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ। सम्झौताअनुसार निर्माण कार्य २०८४ असार १५ गतेभित्र सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ।भवन निर्माण सङ्घीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग र महावै गाउँपालिकाको संयुक्त लगानीमा हुने भएको छ। कुल लागतमध्ये ६० प्रतिशत रकम सङ्घीय सरकारले र ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ।गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले नयाँ प्रशासकीय भवन निर्माणसँगै स्थानीय तहबाट प्रवाह हुने सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गरे। उनले निर्माण कार्य तोकिएको समयभित्र गुणस्तरीय रूपमा सम्पन्न हुने अपेक्षा पनि व्यक्त गरे।

उपाध्यक्ष दानसिंह सेजुवालले आफ्नै प्रशासकीय भवन नहुँदा विगतमा सेवा प्रवाहमा विभिन्न कठिनाइ रहेको उल्लेख गर्दै भवन निर्माणपछि नागरिकले एकै स्थानबाट सहज र झन्झटरहित सेवा प्राप्त गर्ने बताए।

तपाईको प्रतिक्रिया