नेपालमा पहिलो पटक निजी क्षेत्रले २२० केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ। मर्स्याङ्दी करिडोरअन्तर्गत सात वर्षदेखि अलपत्र रहेको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रियतामा डेढ वर्षमै निर्माण सम्पन्न भएको हो।

नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी सात निजी जलविद्युत् प्रवर्द्धक कम्पनीलाई दिएको थियो। निर्माण सम्पन्न भएसँगै निजी क्षेत्रले प्रसारण पूर्वाधार विकासमा पनि प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उदाहरण स्थापित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाका अनुसार प्रसारण पूर्वाधारको अभावका कारण उत्पादन भएको विद्युत् उपयोग हुन नसक्ने समस्या समाधानमा निजी क्षेत्र महत्वपूर्ण साझेदार बन्न सक्छ।

विद्युत् प्राधिकरणका अनुसार प्रसारण लाइनलाई राष्ट्रिय ग्रिडमा जोड्ने अन्तिम तयारी भइरहेको छ। परीक्षण सफल भएपछि नियमित सञ्चालनमा आउने यो लाइनमार्फत मर्स्याङ्दी, दोर्दी र त्रिशूली नदी प्रणालीका निजी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया