नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गर्ने भएको छ। उक्त ऋणपत्र अनलाइन बोलकबोल (अक्सन) प्रणालीमार्फत जारी गरिनेछ। ऋणपत्रको साँवा भुक्तानी २०८४ असार २४ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यस ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा गरिनेछ र बहुब्याजदरमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार बोलकबोल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ।

राष्ट्र बैंकले आह्वान गरिएको रकमको बाँडफाँड गर्दा बोलकबोलमा प्रस्ताव गरिएका ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँड रकमसम्म कायम हुने बिन्दुको ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गर्ने जनाएको छ। सोही एकल ब्याजदरमा उक्त दर वा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीहरूलाई ऋणपत्र बिक्री गरिनेछ।

तपाईको प्रतिक्रिया