काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफूहरूको मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। आयोगका अध्यक्ष तप बहादुर मगरले प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विस्थापनपछिको अवस्थासम्बन्धी उजुरी आयोगमा परेको जानकारी दिए।

अध्यक्ष मगरले आयोगले यसअघि पनि सुकुमवासीलाई हटाउनुअघि उचित व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरिसकेको स्मरण गराउँदै अहिले पनि सोही विषयमा उजुरी आइरहेको बताए। उनका अनुसार सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेपछि त्यहाँको अवस्थाबारे समेत आयोगमा गुनासो दर्ता भएको छ।

त्यस्तै आयोगका सदस्य मिहिर ठाकुरले आयोगका सिफारिस कार्यान्वयनको अवस्था कमजोर रहेको बताए। उनले आयोगले गरेका सिफारिस कार्यान्वयन नहुँदा मानव अधिकार संरक्षणमा चुनौती थपिएको उल्लेख गर्दै आयोगका निर्णय कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया