अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। अमेरिकी डलर कमजोर बनेसँगै लगानीकर्ताको आकर्षण सुनतर्फ बढ्दा यसको मूल्य प्रतिऔंस ४ हजार डलरभन्दा माथि पुगेको हो। यससँगै सुनको मूल्य पाँच महिनापछि पहिलोपटक मासिक रूपमा वृद्धि हुने संकेत देखिएको छ।

यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.९१ प्रतिशत अर्थात् ३६ डलरले वृद्धि भई प्रतिऔंस ४ हजार ७६ डलर पुगेको छ। साप्ताहिक रूपमा सुनको मूल्य करिब ०.६ प्रतिशतले बढ्ने क्रममा रहेको छ भने जुलाई महिनाभरमा करिब १.७ प्रतिशतको वृद्धि भएको छ। बिहीबार अमेरिकी डलर सूचकांक सन् २०२३ जनवरीयताकै सबैभन्दा ठूलो एकदिने गिरावटसहित करिब २.४ प्रतिशतले कमजोर बनेको थियो। डलरको कमजोरीपछि सुनमा खरिद चाप बढेको विश्लेषकहरूले बताएका छन्।

डलरमा मूल्य निर्धारण हुने सुनको कारोबारमा अमेरिकी मुद्रा कमजोर हुँदा अन्य देशका लगानीकर्ताका लागि सुन तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले माग बढ्ने र त्यसले मूल्यलाई थप टेवा पुग्ने गरेको छ।

तपाईको प्रतिक्रिया