सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सप्तरीको खडक नगरपालिका–७, कल्याणपुर बजारमा हिन्दु र मुस्लिम समुदायको संयुक्त सद्भाव र्याली आयोजना गरिएको छ। धार्मिक तथा जातीय सद्भाव कायम राख्दै आपसी भाइचारा र सम्मानको सन्देश प्रवाह गर्ने उद्देश्यले शुक्रबार र्याली निकालिएको हो।
‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ भन्ने नारासहित आयोजित र्यालीमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न समुदायका अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो। र्यालीमा सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य शिताराम शाह पनि सहभागी भएका थिए। सांसद शाहले विवाद र द्वन्द्वले कुनै समाधान नदिने उल्लेख गर्दै समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताए। देवानगञ्ज घटनापछि समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र्याली आयोजना गरिएको सहभागीहरूको भनाइ थियो।र्यालीमा खडक नगरपालिकाका निवर्तमान नगरप्रमुख हेमायु हक, वडा नम्बर–७ का अध्यक्ष राकेश साह, वडा नम्बर–६ का अध्यक्ष मोहम्मद कलामुद्विनलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
उता, देवानगञ्ज घटनापछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सप्तरीको राजविराज र बोदेबरसाइन नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु जारी रहेको छ।

Online Arthik










