अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी (बन्ड) राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।

नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ लाखदेखि ३० लाख रुपैयाँसम्म) धरौटी जम्मा गर्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्ने प्रावधान थियो। अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा आवेदन अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ।

मन्त्रालयले भिसाको अवधि समाप्त भएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने (ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले यो व्यवस्थालाई स्थायी बनाइएको जनाएको छ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकमा यो नियम लागू हुने बताइएको छ।

तपाईको प्रतिक्रिया