नेपालको पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ‘१९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८३’ आयोजना गर्ने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित प्रदर्शनी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा सञ्चालन हुनेछ।
पाँच दिनसम्म चल्ने प्रदर्शनीमा करिब ९० वटा स्टल रहनेछन्। विभिन्न नर्सरी, व्यावसायिक फार्म तथा पुष्प क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरूको सहभागिता रहने प्रदर्शनीमा गोदावरी फूलका पाँच विधा—इन्कर्भ, रेफ्लेक्स, स्पाइडर, मिनिएचर र कट फ्लावर—मा प्रतिस्पर्धा गराइनेछ। उत्कृष्ट प्रदर्शकलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिनेछ। साथै, विभिन्न प्रजातिका फूल, बिरुवा, कृषि औजार, मलखाद तथा बीउबिजनको प्रदर्शनी तथा बिक्री–वितरणसमेत गरिने आयोजकले जनाएको छ।सदस्य व्यवसायीका लागि भदौ १ गतेदेखि र गैर–सदस्यका लागि भदौ ८ गतेदेखि स्टल बुकिङ खुला हुनेछ। स्टल शुल्क सदस्यका लागि २५ हजार रुपैयाँ र गैर–सदस्यका लागि ५० हजार रुपैयाँ तोकिएको छ।
फ्यानले पुष्प व्यवसायी, किसान, उद्यमी तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई नेपाली पुष्प व्यवसायको विकासमा योगदान पुर्याउन तथा फूलको सौन्दर्यको आनन्द लिन आग्रह गरेको छ। साथै, तिहारअघि आयोजना हुने यस प्रदर्शनीले फूलको माग र आपूर्तिमा सन्तुलन कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Online Arthik










