सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लामो समयदेखि दाबी हुन नसकेको नगद लाभांश तथा निष्क्रिय बैंक खाताको हकदाबी र अद्यावधिक गर्न सम्बन्धित सेयरधनी तथा निक्षेपकर्तालाई आग्रह गरेको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म पाँच वर्षभन्दा बढी समयदेखि संकलन हुन बाँकी रहेको नगद लाभांश लिन सम्बन्धित सेयरधनीले सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। समयमै लाभांश संकलन नगरे प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। त्यसैगरी, बैंकले १० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभएका मौज्दात भएका वा शून्य मौज्दात रहेका निष्क्रिय खाताहरू अद्यावधिक गरी पुनः सञ्चालनमा ल्याउन सम्बन्धित खातावालालाई आग्रह गरेको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक प्रमाणसहित आफूलाई पायक पर्ने शाखा कार्यालयमा स्वयं उपस्थित भई खाता अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ।तोकिएको अवधिमा हकदाबी नपरेका तथा १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरू नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ को दफा ३(३) बमोजिम बन्द गरिने बैंकले स्पष्ट पारेको छ।यसैगरी, २० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभई निष्क्रिय अवस्थामा रहेका खाताका सम्बन्धित निक्षेपकर्ता वा कानुनी हकवालालाई समेत खाता अद्यावधिक तथा हकदाबी गर्न बैंकले आह्वान गरेको छ। सांग्रिला डेभलपमेन्ट बैंकमा साविक कसमस डेभलपमेन्ट बैंक लिमिटेड र वागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेडका खातासमेत समेटिएका छन्।सम्बन्धित निक्षेपकर्ता वा कानुनी हकवालाले आवश्यक प्रमाणसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको शाखामा सम्पर्क गरी खाता अद्यावधिक तथा हकदाबी गर्नुपर्नेछ। सो अवधिमा हकदाबी नपरेमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ को दफा ३(४) बमोजिम त्यस्ता खातामा रहेको रकम नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने बैंकले जनाएको छ।

बैंकले पाँच वर्षभन्दा बढी समयदेखि संकलन नभएको लाभांश तथा १० वर्ष र २० वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका खातासम्बन्धी विवरण आफ्नो वेबसाइटमा समेत उपलब्ध गराएको जनाएको छ। सम्बन्धित सेयरधनी तथा निक्षेपकर्तालाई समयमै विवरण जाँच गरी आवश्यक प्रक्रिया पूरा गर्न बैंकले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया