सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पीक (kWp) क्षमताको रूफटप सोलार पिभी प्लान्ट सञ्चालनमा ल्याइएको छ। उक्त प्लान्टको आज आयोजित विशेष समारोहबीच सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले विद्युतीय सवारीसाधनको बिक्री–वितरणमा मात्र सीमित नभई त्यसको चार्जिङ, मर्मत तथा सर्भिसिङ प्रक्रियालाई समेत वातावरणमैत्री र दिगो बनाउने कम्पनीको प्रतिबद्धता रहेको बताए। कपन ईभी वर्कसपमा सोलार प्लान्ट स्थापना हुनु सोही प्रतिबद्धताको महत्वपूर्ण कदम भएको उनको भनाइ छ। ईभी आफैँ वातावरणमैत्री भए पनि त्यसको चार्जिङ तथा मर्मत–सम्भारमा प्रयोग हुने ऊर्जासमेत स्वच्छ बनाउनुपर्नेमा उनले जोड दिए।

त्यस्तै, प्राइम रिन्युएबल्सका अध्यक्ष गर्गले ईभी मोबिलिटीलाई ऊर्जा प्रदान गर्ने स्रोत पनि स्वच्छ हुनुपर्ने बताए। स्वच्छ सौर्य ऊर्जा प्रयोगमार्फत ईभी इकोसिस्टमलाई थप कार्बन उत्सर्जनमुक्त बनाउन सकिने उनको भनाइ छ। सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्ससँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको एकीकरणको सम्भावना प्रस्तुत गरेको उनले बताए।

कम्पनीका अनुसार सम्झौता भएको तीन महिनाको छोटो अवधिमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको उक्त प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको छ। प्लान्टले वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन गर्ने अपेक्षा गरिएको छ। यसबाट विद्युत् खर्च घटाउनुका साथै कार्बन उत्सर्जन न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास छ। नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको अवस्थामा स्वच्छ ऊर्जामा आधारित सम्पूर्ण ईभी इकोसिस्टम निर्माणतर्फ यो परियोजनालाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया