सडक विभागले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ। हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको हो।
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक इन्जिनियर शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ। सुरुङभित्र कुनै आपत्कालीन अवस्था सिर्जना भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा परीक्षण भइरहेको उनले बताए। विशेषगरी ठूलो संख्यामा यात्रु बोकेको बसमा आगलागी भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयलाई परीक्षणको मुख्य प्राथमिकतामा राखिएको छ।
सुरुङमार्गमा ब्यारिकेड तथा ड्रम राखिएका तस्बिर सार्वजनिक भइरहेका विषयमा प्रवक्ता न्यौपानेले ती सामग्री सुरक्षा परीक्षण तथा अन्तिम तयारीका लागि राखिएको स्पष्ट पारे। उनका अनुसार हाल सुरुङमार्गमा आकस्मिक सवारीसाधनको आवतजावत मात्र खुला गरिएको छ भने सर्वसाधारणका लागि सञ्चालन गर्नुअघि एउटा अन्तिम आपत्कालीन सुरक्षा अभ्यास गर्न बाँकी छ।
अन्तिम सुरक्षा परीक्षण सम्पन्न भएपछि सुरुङमार्ग सबैका लागि खुला गरिने र त्यसका लागि साउनभित्रैको समयसीमा राखिएको विभागले जनाएको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्गको साउनको दोस्रो साता औपचारिक उद्घाटन गरिएको थियो। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा विशेष समारोहबीच सुरुङमार्गको उद्घाटन भएको हो।
करिब सात वर्षपछि उद्घाटन भएको सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समय बचत तथा सुरक्षित र आधुनिक सडक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Online Arthik









