नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरेको चारदिने ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ। सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती, कर्मचारीको क्षमता अभिवृद्धि तथा प्रविधिको प्रयोगलगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजित सम्मेलनको औपचारिक उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले सोहीअनुसार आफूलाई तयार गर्दै व्यवसाय प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताइन्। कम्पनीले कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै उनले जीवन बीमा क्षेत्रमा ठूलो सम्भावना बोकेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी प्रशिक्षणमार्फत डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।कम्पनीले मानव संसाधनमा निरन्तर लगानी गर्दै कर्मचारीको वृत्ति विकासमा योगदान पुर्याउँदै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने अध्यक्ष सिंहले बताइन्। कर्मचारीको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वाससमेत उनले व्यक्त गरिन्।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ आर्थिक वर्षको सुरुवातसँगै नयाँ यात्रा, संकल्प र अवसरको प्रारम्भ भएको बताए। उनले नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तनको अवसर नभई सोच, प्रतिबद्धता र भविष्यलाई थप उचाइमा पुर्याउने संकल्प गर्ने अवसर भएको धारणा व्यक्त गरे।सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुन सक्ने सम्भावना बढ्दै गएकाले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी यस विषयमा विशेष चनाखो र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए

कर्मचारीलाई प्रविधिमा समेत दक्ष बनाउने उद्देश्यले प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विशेष प्रशिक्षण दिएका थिए। उनले एआईका विभिन्न टुल्सबारे जानकारी दिँदै यसको प्रयोगमार्फत बीमा व्यवसायलाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा मार्केटिङ गर्न सकिने उपायबारे प्रशिक्षण दिएका थिए।त्यस्तै, प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती सामना गर्दै व्यावसायिक सफलता हासिल गर्ने विषयमा श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रशिक्षण दिएका थिए। उनले विभिन्न व्यावहारिक उदाहरण प्रस्तुत गर्दै बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे सहभागीलाई जानकारी गराएका थिए।सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै, अधिकतम प्रथम बीमाशुल्क संकलन, अधिकतम सक्रिय अभिकर्ता उत्पादन र अधिकतम बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालय तथा चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक उत्कृष्ट शाखा कार्यालयलाई पनि सम्मान गरिएको थियो। पुरस्कार तथा सम्मान कम्पनीकी अध्यक्ष सिंहले प्रदान गरेकी थिइन्।कर्मचारीको क्षमता विकाससँगै मनोरञ्जन तथा आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सम्मेलनमा विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका खेल सञ्चालन गरिएको थियो। विभिन्न खेल विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पुरस्कार प्रदान गरेका थिए।
कम्पनीका अनुसार चारदिने सम्मेलनले आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

Online Arthik









