माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले यस अवधिमा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६१ करोड ७४ लाख रुपैयाँको तुलनामा २९.०८ प्रतिशतले बढी हो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीसमेत बढेको छ। समीक्षा अवधिमा विद्युत बिक्रीबाट कम्पनीले १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब ३० करोड रुपैयाँको तुलनामा १७.३१ प्रतिशत बढी हो। यस्तै, कम्पनीले बीमा दाबीबापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ भने ब्याज खर्चसमेत घटेको छ। अघिल्लो वर्ष २४ करोड ४३ लाख रुपैयाँ रहेको ब्याज खर्च घटेर चालु आर्थिक वर्षमा २० करोड १९ लाख रुपैयाँमा झरेको छ।विद्युत बिक्री आम्दानीमा भएको वृद्धि, बीमा दाबीबाट प्राप्त रकम तथा ब्याज खर्चमा आएको कमीका कारण कम्पनीको नाफा बढेको देखिन्छ। कम्पनीको सञ्चालन मुनाफासमेत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ८९ करोड १८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष १ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। चुक्ता पुँजीका आधारमा कम्पनीले चालु आर्थिक वर्षको नाफाबाट करिब २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ। यद्यपि, कम्पनीले मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको र हालै आयोजनाको वित्तीय व्यवस्थापनसमेत सम्पन्न गरिसकेकाले आगामी लाभांशमा बोनस सेयरलाई प्राथमिकता दिन सक्ने देखिन्छ। कम्पनीले विगतका वर्षहरूमा पनि बोनस सेयरलाई प्राथमिकता दिँदै आएको छ। आर्थिक वर्ष २०७८/७९ देखि कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको छ।समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) २५.५२ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईपीएस २३.७२ रुपैयाँ थियो। आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी वृद्धि गरे पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको ईपीएस कायम गर्न सफल भएको छ। कम्पनीको प्रति सेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ।
माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना र ५ मेगावाट क्षमताको ताँदीखोला जलविद्युत आयोजनाबाट नियमित रूपमा विद्युत उत्पादन भइरहेको छ।

Online Arthik









