गरिमा विकास बैंकको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ का लगानीकर्ताले अब अनलाइनमार्फत विभिन्न सेवा लिन सक्ने भएका छन्।

धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा रहेको योजनाका लगानीकर्तालाई सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले गरिमा क्यापिटलले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार लगानीकर्ताले अनलाइनमार्फत इकाइ खरिदका लागि आवेदन दिनुका साथै रकम भुक्तानीसमेत गर्न सक्नेछन्। त्यस्तै, व्यवस्थित लगानी योजना (एसआईपी) दर्ता तथा किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना (डीआरआईपी) दर्ता, लगानीकर्ता दर्ता, लगइन तथा प्रोफाइल व्यवस्थापनलगायतका सुविधा पनि अनलाइनबाटै उपलब्ध हुनेछन्।यसैगरी, लगानीकर्ताले इकाइ पुनर्खरिद, एसआईपी संशोधन तथा एसआईपी रद्द गर्नेसम्मका सेवा पनि अनलाइनमार्फत लिन सक्नेछन्। कम्पनीले आगामी दिनमा लगानीकर्ताको आवश्यकताअनुसार थप सेवाहरू क्रमशः अनलाइन प्रणालीमा समावेश गर्दै लैजाने जनाएको छ।योजनासँग सम्बन्धित सम्पूर्ण सेवाका लागि लगानीकर्ताले काठमाडौंस्थित योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको कार्यालय तथा गरिमा विकास बैंकका देशभर रहेका शाखा कार्यालयबाट समेत सेवा लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

अनलाइन प्रणाली सञ्चालनमा आएसँगै गरिमा सुवर्ण योजनाका लगानीकर्ताले इकाइ खरिद, एसआईपी तथा अन्य लगानीसम्बन्धी कार्यका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता कम हुने भएको छ। कम्पनीले डिजिटल प्रणालीमार्फत सेवा उपलब्ध हुँदा लगानीकर्तालाई थप सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया