नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘NAIMA Nepal Mobility Expo 2026’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। ‘नेपाल्स लार्जेस्ट अटो एक्स्पो’का रूपमा आयोजना गरिएको प्रदर्शनी साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
६ दिनसम्म चल्ने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्ड सहभागी छन्। प्रदर्शनीमा विद्युतीय सवारीसाधन, नयाँ अटोमोबाइल प्रविधि, स्मार्ट मोबिलिटी, नवप्रवर्तन तथा दिगो यातायातका क्षेत्रमा भएका पछिल्ला विकासलाई नेपाली उपभोक्तामाझ प्रस्तुत गरिएको छ।
एक्स्पोलाई सवारीसाधन प्रदर्शनीमा मात्र सीमित नराखी सिकाइ, नीतिगत छलफल तथा उद्योग–उपभोक्ता अन्तरक्रियाको केन्द्रका रूपमा विकास गर्ने आयोजकले जनाएको छ। एक्स्पो अवधिभर Learning Sessions, Policy Dialogues तथा Industry Interactions सञ्चालन हुनेछन्। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगी, विद्यार्थी तथा विभिन्न सरोकारवालाबीच मोबिलिटी क्षेत्रका सम्भावना, चुनौती, सुरक्षा र भविष्यका विषयमा छलफल हुनेछ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नुका साथै आगामी दिशासमेत तय गर्न सहयोग गर्ने बताइन्। प्रविधि, नवप्रवर्तन तथा दिगो मोबिलिटीका क्षेत्रमा भएका नयाँ विकास नेपाली उपभोक्तासम्म पुर्याउनु एक्स्पोको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।
अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले सदस्य कम्पनी, सरकारी निकाय, साझेदार तथा अन्य सरोकारवालासँगको समन्वयमा एक्स्पो आयोजना गरिएको बताए। नाइमाका कार्यकारी निर्देशक राजकुमार झलालले प्रदर्शनीसँगै सिकाइ र जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिइएको जानकारी दिए।
एक्स्पोको पहिलो दिन दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला हुनेछ। अन्य दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने आयोजकले जनाएको छ। एक्स्पोमा ग्लोबल आइएमई बैंक, रेडबुल, एनएमबी बैंक, सिद्धार्थ बैंक, सलिको, एनएलजी इन्स्योरेन्स, बोस (BOSCH), पठाओ, वर्ल्डलिंकलगायत विभिन्न संस्थाको साझेदारी रहेको छ।

Online Arthik









