पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ गतेदेखि समाप्त हुने भएको छ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत सामूहिक लगानी कोषका योजनालाई बाँडफाँट गरेको उक्त सेयरको लकइन अवधि नेपाल धितोपत्र बोर्डको व्यवस्था बमोजिम ६ महिना रहेको जनाएको छ। सोहीअनुसार उक्त सेयरको लकइन अवधि भदौ २८ गते समाप्त हुन लागेको हो।
कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। त्यसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी तथा खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर छुट्याइएको थियो।
बाँकी १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् २ लाख ८१ हजार २५० कित्ता सेयर छुट्याइएको थियो।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सार्वजनिक निष्कासनमार्फत बाँडफाँट गरिएको सेयरमध्ये सामूहिक लगानी कोषका योजनालाई छुट्याइएको सेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार पाल्पा सिमेन्टको उक्त सेयरको लकइन अवधि भदौ २८ गतेदेखि समाप्त हुने भएको हो।

Online Arthik









