गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुमार पन्तले नेपाल डेभलपमेन्ट फन्डका लागि आवश्यक कानुनी संशोधन स्वीकृत हुनुलाई गैरआवासीय नेपालीको लगानी नेपाल भित्र्याउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
पन्तका अनुसार गैरआवासीय नेपालीहरूको सात वर्षदेखिको निरन्तर प्रयासले अब मूर्त रूप पाएको हो। कानुनी संशोधन स्वीकृत भएसँगै विश्वभर रहेका गैरआवासीय नेपालीले विदेशमै बसेर नेपाल डेभलपमेन्ट फन्डको शेयर खरिद गर्न सक्ने र उक्त शेयर प्रत्यक्ष रूपमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत जाने व्यवस्था अघि बढ्ने उनले बताएका छन्। उनले नेपाल डेभलपमेन्ट फन्डको यो प्रगतिले नेपालको आर्थिक विकास, लगानी विस्तार तथा रोजगारी सिर्जनामा गैरआवासीय नेपालीहरूको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
यस उपलब्धिका लागि नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै पन्तले विगत सात वर्षदेखि निरन्तर पहल र मेहनत गर्ने सम्पूर्ण सहकर्मी तथा सहयोगीप्रति नेपाल डेभलपमेन्ट फन्डको तर्फबाट आभार व्यक्त गरेका छन्। “हामी सबैको सात वर्षको अथक मेहनतले आज मूर्त रूप पाएको छ,” पन्तले भनेका छन्।

Online Arthik








