सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७२ प्रतिशत कम हो। अघिल्लो आवमा कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको बिक्री आम्दानीमा समेत गिरावट आएको छ। अघिल्लो आवमा ७ अर्ब ७६ करोड रुपैयाँ रहेको बिक्री आम्दानी समीक्षा अवधिमा घटेर ६ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ। निर्माण क्षेत्रमा देखिएको सुस्त गतिविधि तथा बजार मागमा आएको कमीले कम्पनीको बिक्री प्रभावित भएको देखिन्छ। बिक्री आम्दानी घटेसँगै कम्पनीको ग्रस प्रफिट पनि घटेको छ। अघिल्लो आवमा १ अर्ब ७२ करोड रुपैयाँ रहेको ग्रस प्रफिट समीक्षा अवधिमा घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ। यद्यपि कम्पनीले अन्य आम्दानीबाट १३ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ, जसले नाफा कायम राख्न केही सहयोग गरेको देखिन्छ।समीक्षा अवधिमा कम्पनीले सञ्चालन खर्च भने नियन्त्रणमा राख्न सफल भएको छ। अघिल्लो आवमा ९३ करोड १६ लाख रुपैयाँ रहेको सञ्चालन खर्च घटेर ८० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। खर्च कटौतीका कारण बिक्री आम्दानीमा आएको गिरावटको प्रभाव नाफामा ठूलो रूपमा पर्न नदिएको देखिन्छ।वित्तीय अवस्थातर्फ कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व २ अर्ब ३० करोड रुपैयाँ रहेको छ। यसले कम्पनीको अल्पकालीन दायित्व वहन गर्ने क्षमता सन्तोषजनक रहेको संकेत गर्छ।समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ३ पैसा रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३ रुपैयाँ ७१ पैसा तथा तरलता अनुपात १.६४ गुणा रहेको कम्पनीले जनाएको छ।
बिक्री आम्दानी र ग्रस प्रफिटमा गिरावट आए पनि सञ्चालन खर्च नियन्त्रण तथा अन्य आम्दानीको सहयोगमा शिवम् सिमेन्टले नाफालाई तुलनात्मक रूपमा स्थिर राख्न सफल भएको देखिन्छ। निर्माण तथा पूर्वाधार क्षेत्रमा मागमा सुधार आए आगामी दिनमा कम्पनीको वित्तीय प्रदर्शनमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।

Online Arthik








