नागरिक लगानी कोषले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७२ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिमा कोषले १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

असार मसान्तसम्म कोषको खुद ब्याज आम्दानी तथा कुल आम्दानीमा वृद्धि भएका कारण नाफा बढेको हो। अघिल्लो आवमा ३३ करोड ७४ लाख ३० हजार रुपैयाँ रहेको ब्याज आम्दानी ८.१० प्रतिशतले बढेर समीक्षा अवधिमा ३६ करोड ४७ लाख ६९ हजार रुपैयाँ पुगेको छ। प्रकाशित वित्तीय विवरणअनुसार कोषको सेवा तथा कमिसन आम्दानी ८.३८ प्रतिशतले बढेको छ भने कुल आम्दानी ७.२८ प्रतिशतले वृद्धि भएको छ। यता, कोषको कुल खर्च भने अघिल्लो आवको ४२ करोड ४२ लाख रुपैयाँबाट बढेर ४४ करोड ४६ लाख रुपैयाँ पुगेको छ।नाफामा वृद्धि भएसँगै कोषको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ०.५० रुपैयाँले बढेर १९.८४ रुपैयाँ पुगेको छ। त्यस्तै, कोषको मूल्य आम्दानी अनुपात ८४.१७ गुणा र प्रतिसेयर नेटवर्थ १५२.४७ रुपैयाँ रहेको छ।

असार मसान्तसम्म कोषको चुक्ता पुँजी ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोषमा १२ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया