नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ।
साधारणसभामा डोलप्रसाद अर्याल प्रमुख अतिथि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी छन्। कार्यक्रममा नाट्टाका अध्यक्ष कुमार थपलियाले पर्यटन क्षेत्रमा प्रशासनिक झन्झटका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको बताए। उनले पर्यटन क्षेत्रमार्फत मुलुकमा समृद्धि भित्र्याउन सकिने उल्लेख गर्दै सरकारले पर्यटन क्षेत्रका सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए। पर्यटन क्षेत्र निजी क्षेत्रले सञ्चालन गरिरहेको भन्दै उनले व्यवसायीमैत्री वातावरण निर्माण गर्न सरकारको सहयोग आवश्यक रहेको बताए।नाट्टाले साधारणसभाकै क्रममा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ। नाट्टाको २५औँ कार्यसमितिको निर्वाचनमार्फत सन् २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ।निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष पदमा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। वर्तमान वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठ, वर्तमान महासचिव युबिका भण्डारी र पर्यटन व्यवसायी भरतजंग पाण्डेले छुट्टाछुट्टै समूह बनाएर अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरिरहेका छन्।यसपटकको निर्वाचनमा पर्यटन व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने, व्यवसायीका समस्या समाधानका लागि संस्थागत पहल बढाउने, पर्यटन प्रवद्र्धन विस्तार गर्ने तथा नाट्टालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख चुनावी एजेन्डा बनेका छन्।
तीनै समूहले पर्यटन व्यवसायीका समस्या समाधान, पर्यटन प्रवद्र्धन र संस्थागत सुधारलाई प्राथमिकतामा राखेका छन्। यद्यपि नेतृत्वमा पुगेपछि अघि बढाउने प्राथमिकता, कार्यशैली र संस्थागत सुधारका विषयमा उम्मेदवारहरूका केही फरक एजेन्डा रहेका छन्।

Online Arthik










