नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापन गर्न शुक्रबार बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा नगद प्रवाह बढ्दै गएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो।
राष्ट्र बैंकले गत साउन २७ गते ३० अर्ब रुपैयाँ बजारबाट खिचेको थियो। त्यसको केही दिनमै पुनः ३५ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो। यससँगै राष्ट्र बैंकले छोटो अवधिमा लगातार रूपमा बजारबाट तरलता खिच्न थालेको छ। राष्ट्र बैंकले विभिन्न शर्त तथा विशेषता कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने जनाएको छ। निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज असोज २ गते भुक्तानी गरिनेछ।निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिनुपर्नेछ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका इच्छुक बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बोलकबोल अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुने राष्ट्र बैंकले जनाएको छ।

Online Arthik










