रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा अघिल्लो आर्थिक वर्षको ५७ करोड १ लाख रुपैयाँको तुलनामा २.१८ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष पनि उल्लेख्य बढेको छ। अघिल्लो आर्थिक वर्ष १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत आर्थिक वर्ष बढेर १७ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३२.१४ प्रतिशतको वृद्धि हो।त्यस्तै, कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आर्जन ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कुल बीमाशुल्क आर्जन २२.८६ प्रतिशतले बढेको हो।कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आर्जन ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.५६ प्रतिशतले बढेको छ।
नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्ष १०.९७ रुपैयाँ रहेको ईपीएस गत आर्थिक वर्ष बढेर ११.२१ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ रहेको छ।

Online Arthik










